नियम
हस्तान्तरणको कार्ययोजना तयार गर्नुपर्ने
(१) ऐनको दफा २५ को उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त हुने सेवा प्रदायकले आफ्नो सम्पत्ति सोही ऐनको दफा ३३ बमोजिम नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रयोजनको लागि अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा दुई वर्ष अगावै हस्तान्तरणको कार्ययोजना तयार गरी प्राधिकरणमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको हस्तान्तरणको कार्ययोजनामा देहायको विवरण खुलाउनु पर्नेछ:- (क) अनुमतिपत्र प्राप्त व्यक्तिको नाममा नेपालभित्र रहेको जग्गा र भवनको विवरण,
(ख) दूरसञ्चार सेवा सञ्चालन गर्दा प्रयोगमा रहेको देहायका यन्त्र, उपकरण र संरचनाको विवरणः- (१) जडान भएको यन्त्र तथा उपकरण,
(२) प्रयोग भएको फ्रिक्वेन्सीको परिमाण,
(३) दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल,
(४) सेवा सञ्चालनमा प्रयोग भएका अन्य संरचना ।
(ग) खण्ड (क) वा (ख) बमोजिमको कुनै सम्पत्ति धितो वा बन्धकमा दिएको भए सोको विवरण,
(घ) दूरसञ्चार सेवा सञ्चालन गर्न खण्ड (क) वा (ख) बमोजिमको कुनै सम्पत्ति भाडा वा लिजमा लिएको भए सोको विवरण,
(ङ) दूरसञ्चार सेवा सञ्चालन गर्दा नेपालभित्र विकास गरेको दूरसञ्चार सञ्जाल तथा सेवाग्राहीको सङ्ख्या,
(च): नेपाल सरकार, प्राधिकरण वा अन्य कुनै निकाय, सँस्था वा व्यक्तिलाई तिर्नु बुझाउनु पर्ने कर, शुल्क, दस्तूर वा अन्य कुनै रकम बा दायित्व र त्यस्तो रकम वा दायित्व भुक्तानी गर्ने अवधि,
(छ) प्राधिकरणले तोकेको अन्य विवरण ।